मोरङ ,आश्विन ७, २०८२ ! देशमा युवा आन्दोलन र राजनीतिक अस्थिरतापछि बनेको सुषिला कार्की नेतृत्वको अन्तरिम सरकारले आश्विन ७ गतेसम्म आठ जना मन्त्री नियुक्त गरिसकेको छ। बाँकी पदहरूमा सिफारिस भए पनि सबैले शपथ लिइसकेका छैनन्। केही उम्मेदवारविरुद्ध उजुरी परेकाले नियुक्ति रोकिएको छ।
प्रधानमन्त्री कार्कीले आरम्भमा मन्त्रिपरिषद् छोटो राख्ने बताएकी थिइन्। प्रारम्भिक रूपमा ११ जना सम्म मन्त्री बनाउने योजना थियो। हालसम्मको अवस्था अनुसार, आठ जनाले मात्र औपचारिक रूपमा मन्त्रिपद ग्रहण गरेका छन्।
हालसम्म मन्त्रिपद सम्हालेका मन्त्रीहरू
सुषिला कार्की – प्रधानमन्त्री
रामेश्वर प्रसाद खनाल – अर्थ तथा संघीय मामिला र सामान्य प्रशासन
कुलमान घिसिङ – ऊर्जा, जल स्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात
ओम प्रकाश अर्याल – गृह, कानून, न्याय तथा संसदीय मामिला
अनिल कुमार सिन्हा – उद्योग, वाणिज्य तथा आपूर्ति, भूमिसुधार, सहकारी तथा गरिबी निवारण
महावीर पुन – शिक्षा, विज्ञान तथा प्रविधि
मदन प्रसाद परियार – कृषि तथा पशुपालन विकास
जगदीश खरेल – सञ्चार तथा सूचना प्रविधि
स्वास्थ्य मन्त्रालय लगाय केही मन्त्रालयमा उम्मेदवार सिफारिस भए पनि उनीहरूविरुद्ध सार्वजनिक रूपमा उठेका आरोपका कारण प्रधानमन्त्रीले शपथ प्रक्रिया रोकेकी छन्। उदाहरणका लागि, स्वास्थ्य मन्त्रालयको लागि सिफारिस भएकी एक व्यक्तिमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान चलिरहेको छ।
यसबाहेक, रक्षा, परराष्ट्र, पर्यटन, युवा तथा खेलकुद जस्ता मन्त्रालयको जिम्मा हालसम्म कसैले लिएका छैनन्। यी मन्त्रालयको कार्यवाहक जिम्मेवारी केही समय प्रधानमन्त्री वा अन्य मन्त्रीले सम्हाल्ने भनिएको छ!
नवगठित मन्त्रिपरिषद्ले मुख्य रूपमा तीन कुरामा ध्यान दिइरहेको छ — आन्दोलनप्रति जवाफदेहीता, प्रशासनिक सुधार, र नयाँ निर्वाचनको तयारी। मन्त्रीहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूमध्येबाट रोजिएको छ।
सरकारले पारदर्शिता, जवाफदेहीता र युवामैत्री शासनको प्रतिबद्धता व्यक्त गरिरहेको छ। तर पूर्ण मन्त्रिपरिषद् गठनमा ढिलाइ हुनु र केही सिफारिसविरुद्ध उजुरी आउनुले केही जटिलता देखिएको छ।